नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभयो। राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गर्नुभयो । उहाँले गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको पूजाअर्चना गर्नुभयो । उहाँले शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गर्नुभयो । त्यसअघि उहाँले सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन गर्नुभएको थियो । साथै उहाँले सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गर्नुभयो । राष्ट्रपति मुखर्जीलाई पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सोही मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डन तथा कोषका अन्य पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
© 2016 unnatbij.com.np | All rights reserved | Design and Developed by